काठमाडौं – निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई नेपाली कांग्रेसको आधिकारिकता दिएपछि शेरबहादुर देउवा दलविहीन बनेका छन् । कांग्रेस सभापतिमा गगन थापा आधिकारिक भएका छन् । शुक्रबार दिउँसोसम्म देउवालाई संस्थापन पक्ष दाबी गर्दै आए पनि अब गगन थापा नै संस्थापन भएका छन् ।
अब कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्ह रुख गगन पक्षको भएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय समितिलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगको यो निर्णयलाई चुनौती दिँदै देउवा पक्षलाई सर्वोच्च अदालत जाने बाटो खुलेको छ । यदि देउवा पक्ष अदालत नगई आयोगको निर्णय मानेर अघि बढेमा कांग्रेस विभाजित हुँदैन । अदालतमा मुद्दा पुगेमा भने कांग्रेस औपचारिक रूपमा विभाजन हुन्छ ।
आयोगको निर्णयले कांग्रेस नेताहरुलाई मात्र होइन, सबै दललाई समयको पदचापअनुसार अघि बढ्नुपर्ने सन्देश दिएको छ । यदि भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्म र भावना बुझेर पुस मसान्तभित्रै नियमित महाधिवेशन गरेर गएको भए कांग्रेसले आज यो दिन देख्नुपर्ने थिएन । तर तत्कालीन कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले डेढ महिनासम्म केन्द्रीय समितिको बैठक लम्बाइदिए । त्यहीबेला हो देउवा फेरि सक्रिय राजनीतिमा फर्केको ।
यदि देउवा सिंगापुरबाट नफर्कीकनै १५औं महाधिवेशन गरेको भए कांग्रेसका सबै नेता सान्दर्भिक हुने थिए । तर विशेष महाधिवेशनलाई केही होइन भेला मात्रै हो भनेर बुझ्दा र गम्भीर नबन्दा आज कांग्रेसका मै हुँ भन्ने एक से एक नेता असान्दर्भिक भएका छन् । यसरी एकैपटक असान्दर्भिक हुने नेतामा पूर्णबहादुर खड्का, शेखर कोइराला, धनराज गुरुङ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, सुजाता कोइराला, प्रकाशशरण महतलगायत छन् ।
जो हिजो विशेष महाधिवेशन कानुनी रूपमा वैध हो भनेर लागे आज उनीहरू सान्दर्भिक भएका छन् । जनताले पत्याउने अवस्था छ । तर अहिले पनि विभिन्न आशंका गर्दै आरोप प्रत्यारोपमा ओर्लिने नेता भने जनताको नजरमा खराब बन्नेछन् ।












प्रतिक्रिया