सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय


काठमाडौं । सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णय गरेको हो।

बिदाको यो निर्णय शैक्षिक संस्थामा आगामी वैशाख १५ देखि लागू हुने बताइएको छ। सरकारी कार्यालयमा भने तुरुन्तै लागू हुनेछ ।

पश्चिम एसियामा चर्केको युद्धका कारण पेट्रोलियम पदार्थको संकटको सामना गर्न सरकारले यस्तो निर्णय गरेको बताइन्छ । निर्वाचनलगत्तै साताको दुई दिन सार्वजनिक बिदा दिन व्यापक दबाब परेको थियो । आजको मन्त्रिपरिषद् बैठकले इन्धन संकट नभएसम्म बिदा दिने निर्णय गरेको हो ।

यस्तै, प्रधानमन्त्री बालेन्द्र साह बालेन नेतृत्वको सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमणको प्रस्ताव अन्तिम समयमा अस्वीकृत गरिदिएको छ । अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘स्प्रिङ बैठक’ मा अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । मुख्यसचिवले मन्त्री वाग्लेको सहमतिमै सो प्रस्ताव लगे पनि प्रधानमन्त्री बालेनले त्यसमा असहमति जनाउँदै मन्त्रीस्तरीय सहभागिताको बाटो रोकिदिएका हुन् ।

देशको वर्तमान आर्थिक र राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन मन्त्रीको उपस्थिति आवश्यक रहेको धारणा राखिए पनि प्रधानमन्त्रीले उक्त प्रस्तावलाई अगाडि बढ्न दिएनन् । चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अब सो बैठकमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव धनीराम शर्माले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।