आजबाट संसदको हाइकमान्ड सम्हाल्दै डिपी अर्याल


काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ ९ बाट निर्वाचित भएका हुन् । निरन्तरको संघर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् ।

अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील छन् ।

व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपसभापति हुन्।

संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उनले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा पक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गरेका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । नवनिर्वाचित सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद छन् । अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढंगले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।

विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ । सभामुखले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने जनताबाट उच्च अपेक्षा र उनको दायित्व बनेको छ ।