उपसभामुखबारे रास्वपा रवि, बालेन र डिपी अर्यालको फरकफरक मत


काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख कुन पार्टीलाई दिने भन्ने विषयमा सत्ताको नेतृत्व गरिरहेको रास्वपामा मत बाझिएको छ । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह बालेन र सभामुख डिपी अर्यालबीच मत बाझिएको हो । रविले राप्रपा बोक्दा बालेन श्रम संस्कृति पार्टीतिर ढल्केका छन् ।

अर्यालले नेकपालाई उपसभामुख दिँद उचित हुने बताएका छन् । सभामुखमा डिपी अर्यालको टुंगो लागेपछि अब उपसभामुख कुन दललाई दिने भन्ने विषय रास्वपाकै हातमा देखिन्छ । आइतबार बिहान भएको छलफलमा प्रधानमन्त्री बालेनले उपसभामुख पद हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई दिनुपर्ने अडान राखेका छन् । तर, सभापति लामिछाने भने राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका छन् ।

लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच एक चरणको संवाद भइसकेको छ । राप्रपाले उपसभामुख पाउँदा खुश्बु ओली बन्ने चर्चा चुलिएको छ । यदि नेकपाले पाएमा देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्माको नाम अग्रपंक्तिमा आएको छ । श्रम संस्कृतिले भने अहिलेसम्म नाम अगाडि ल्याएको छैन ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । सभामुखमा अर्याल पुरुष निर्वाचित भइसकेकाले अब उपसभामुख अनिवार्य रूपमा महिला र फरक दलको हुनुपर्नेछ । उपसभामुखबारे सहमति जुटाउन प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच आज साँझ पुनः निर्णायक छलफल हुने बताइएको छ ।

उपसभामुख पद धेरै चासो हुनुको एउटा मुख्य कारण संवैधानिक परिषद् पनि हो। संविधानअनुसार सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुन्छन्। प्रधानमन्त्री अध्यक्ष रहने उक्त परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।