काठमाडौं । अमेरिकाको ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको छ ।
शनिबार राति ह्वाइट हाउस संवाददाता संघको रात्रिभोज कार्यक्रममा एक बन्दुकधारी व्यक्तिले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि गोली चलेको हो ।
एफबीआईका एक अधिकारीका अनुसार ती सशस्त्र व्यक्तिले सिक्रेट सर्भिसका एक एजेन्टमाथि गोली चलाएका थिए। गोली एजेन्टको सुरक्षात्मक सामग्रीले ढाकिएको भागमा लागेकाले उनी सकुशल छन्।
तत्कालै अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई सिक्रेट सर्भिसले तत्काल सुरक्षित स्थानमा सारेको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आक्रमणकारी पक्राउ परिसकेको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘डीसीमा निकै असामान्य साँझ रह्यो, सिक्रेट सर्भिस र सुरक्षा निकायले उत्कृष्ट काम गरे।’ केही समयपछि उनले पुनः जानकारी दिँदै प्रथम महिला, उपराष्ट्रपति तथा सम्पूर्ण मन्त्रिपरिषद् सदस्यहरू सुरक्षित रहेको बताएका थिए।
सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार कार्यक्रम प्रवेशद्वार नजिकै रहेको मुख्य सुरक्षा जाँच क्षेत्रमा गोली चलेको घटनाको अनुसन्धान भइरहेको छ। गोली चलेको आवाजसँगै करिब २,६०० सहभागीहरू स्तब्ध बनेका थिए।
सुरक्षा एजेन्टहरूले तत्काल मन्त्रीहरूलाई भुइँमा लडाएर सुरक्षित बनाएका थिए। यस क्रममा विदेशमन्त्री मार्को रुबियो, स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियर र आन्तरिक मन्त्री डग बर्गम समेतलाई जमिनमा लडाइएको थियो। पछि मन्त्रिपरिषद्का सदस्यहरूलाई एक–एक गर्दै सुरक्षित रूपमा बाहिर निकालिएको थियो।














प्रतिक्रिया