महेश बस्नेतकी श्रीमती सहित १० लाई ज्यान मार्ने उद्योगको मुद्दा चलाउन सिफारिस


एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना महिलाविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

शोभा पाठकलाई आक्रमण गरेको घटनामा संलग्न रहेको आरोपमा उनीहरूमाथि ‘ज्यान मार्ने उद्योग’को कसुरमा मुद्दा दर्ता गर्न सिफारिस गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो।

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने मागसहित पाठक माइतीघरमा धर्नामा बसेकी बेला सोही स्थानमा अम्बिका बस्नेतसहितको समूहले आक्रमण गरेको आरोप लागेको छ।