श्रीमतीकै अघि नायिकालाई आँखा लाउदा फ्रान्सको राष्ट्रपतिले खाए थप्पड


गत वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई उनकी पत्नी ब्रिजिट म्याक्रोनले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। लामो समयपछि उक्त घटनाबारे नयाँ दाबी सार्वजनिक भएपछि यो विषय फेरि चर्चामा आएको छ।

फ्रान्सेली पत्रकार फ्लोरियन टार्डिफले प्रकाशित गरेको “एन (अल्मोस्ट) परफेक्ट कपल” नामक पुस्तकमा उक्त घटनाको कारण इरानी मूलकी अभिनेत्री गोलशिफ्तेह फराहानी भएको दाबी गरिएको छ।

उनका अनुसार राष्ट्रपति म्याक्रोनको मोबाइल फोनमा अभिनेत्री फराहानीबाट आएको सन्देश देखेपछि ब्रिजिट म्याक्रोन रिसाएकी थिइन्। यही विषयलाई लिएर गत वर्ष मे महिनामा हनोईमा विदेश भ्रमणका क्रममा विमानबाट ओर्लनुअघि उनले म्याक्रोनलाई थप्पड हानेको दाबी गरिएको छ।

पत्रकार टार्डिफका अनुसार म्याक्रोन र फराहानीबीच आत्मीय सन्देश आदानप्रदान हुने गरेको थियो। तर अभिनेत्री फराहानीले राष्ट्रपति म्याक्रोनसँग कुनै सम्बन्ध रहेको दाबी अस्वीकार गरेकी छिन्।

त्यस्तै, ब्रिजिट म्याक्रोनका प्रतिनिधिहरूले पनि उक्त घटनासँग फराहानीको कुनै सम्बन्ध नरहेको बताएका छन्। ब्रिजिट म्याक्रोनले आफूले पतिको मोबाइल फोन कहिल्यै नहेर्ने बताएकी थिइन्।