रौतहट l प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा रौतहटको मौलापुर नगरपालिकामा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन्।
बिहीबार प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएकाले बजेट कार्यान्वयन, प्रशासनिक सेवा र विकासका काम प्रभावित भएको आरोप लगाए।
प्रदर्शनका क्रममा ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दाबाद’, ‘मौलापुरमा हाकिम पठाऊँ’, ‘सम्मानित अदालतको आदेश पालना गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’ लगायतका नाराबाजी गरिएको थियो।
स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे जिम्मेवारी सम्हाल्न नआएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। त्यसयता नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त नगर्दा नगरपालिकाको प्रशासनिक तथा वित्तीय कामकाज प्रभावित भएको उनीहरूको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर शिक्षकले छ महिनादेखि तलब नपाएको भन्दै यसअघि पेनडाउन आन्दोलन गरेका थिए। यस्तै, बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही तथा सरसफाइ कर्मचारीले समेत भुक्तानी नपाएको भन्दै समस्या भोगिरहेको स्थानीयले बताएका छन्।

















प्रतिक्रिया