काठमाडौं । नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ।
कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना हुने उक्त दौडमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेका छन्।
थापाले सन्देशमा भनेका छन्, “यही श्रावण ६ गते बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रन हुँदैछ। म पनि दौडँदै छु, तपाईँलाई पनि दौडनका लागि निम्तो छ। आउनुस्, सँगै दौडौँ र जलवायु जनचेतना जगाउने अभियानमा सहभागी बनौँ।”
‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित आयोजना हुन लागेको ‘ग्रिन रन’ मार्फत वातावरण संरक्षण र जलवायु परिवर्तनप्रति नागरिकमा सचेतना फैलाउने उद्देश्य रहेको कांग्रेसले जनाएको छ।


















प्रतिक्रिया