काठमाडौं । साउन महिनाको दोस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेखनीय भीड लागेको छ। बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका दर्शनार्थीका लागि खोलिएको र भक्तजनको सहज तथा सुरक्षित दर्शनका लागि विशेष व्यवस्था गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संस्थाका स्वयंसेवक परिचालित छन्। भक्तजनका लागि चार वटा लाम, प्राथमिक उपचार तथा अन्य आवश्यक सेवाको समेत व्यवस्था गरिएको छ।
कोषले बिहान ८:३० बजेदेखि दिउँसो १२ बजेसम्म विशेष पूजाको व्यवस्था गरेको जनाएको छ। मन्दिरका चारै ढोका बेलुकी आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्। पशुपतिनाथसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा पनि श्रद्धालुहरूले जलाभिषेक, पूजा–आराधना र दर्शन गरिरहेका छन्।


















प्रतिक्रिया