सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा, तीन अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्था बुझिन्


विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुग्नुभएको छ।

घटनापछि उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो।

अस्पताल भ्रमणका क्रममा उहाँले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनसँग घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिनुभएको छ।

घाइते तथा उनीहरूका परिवारसँग भेटघाट गर्दै मन्त्री मेहताले सरकारले पीडितहरूको उपचार, सुरक्षा र आवश्यक सहजीकरणमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गम्भीर घाइतेहरूको उपचारमा स्वास्थ्य मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको उहाँले बताउनुभयो।

स्वास्थ्य मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै सम्बन्धित अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै घाइतेहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक पहल भइरहेको छ।