काठमाडौं – साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि श्रद्धालुको ठूलो घुइँचो लागेको छ।
साउनका सोमबार व्रत बसेर भगवान शिवको पूजा गर्दै आएका व्रतालुले आज विधिपूर्वक व्रत समापन गर्ने धार्मिक परम्परा छ। साउनका अन्य सोमबार व्रत बस्न नसके पनि अन्तिम सोमबार व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण बिहानैदेखि पशुपतिनाथमा भक्तजनको भीड लागेको हो।
साउनको सोमबार भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत, पूजापाठ, दान तथा शिवालयमा दर्शन गर्ने चलन छ। अन्तिम सोमबार भक्तजनको संख्या बढी हुने भएकाले व्रतालुहरू बिहानैदेखि दर्शनका लागि लामबद्ध भएका थिए।
यसैगरी, बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा भीड लागेको छ। भक्तजनहरूले काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउँदै पूजाआजा गरिरहेका छन्।
देशका विभिन्न शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायतका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा तथा बोलबम मेला भर्न आउने श्रद्धालुको उल्लेख्य भीड लागेको छ। देशभरका शिवालयहरूमा ‘बोलबम’को जयघोषसँगै धार्मिक उत्सवको रौनक देखिएको छ।



















प्रतिक्रिया