लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता


रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।

मंगलबार साउन २६ गते दिउँसो लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा देवाही गोनाही नगरपालिका–१ करुनिया निवासी तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता हुनेमा करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो। त्यस्तै, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोली खोजी तथा उद्धारमा खटिएको थियो।

सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्त रूपमा खोजी कार्यलाई तीव्रता दिएपछि बुधबार बिहान दुई बालबालिकाको शव फेला परेको हो।

बुधबार बिहान करिब ७ः३० बजे महमद रमतुलाहको शव घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सोही समयमा सबनम खातुनको शव पनि जिंगडवा क्षेत्रकै खोला किनारमा फेला परेको थियो। दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेको बताइएको छ।

मृतक दुवै बालबालिकाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ।

यता, पानीमा डुबेर बेपत्ता भएकी रौशन खातुनको खोजी कार्य भने अझै जारी रहेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोलामा परिचालन गरिएको छ।

लालबकैया खोलामा बालबालिका डुबेर ज्यान गुमाएको घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। वर्षायाममा खोलानालामा पानीको बहाव बढ्ने भएकाले बालबालिकालाई नदी तथा खोलामा नुहाउन वा पौडी खेल्न नदिन स्थानीय प्रशासनले समेत आग्रह गर्दै आएको छ।