काठमाडौं । प्रतिनिधिसभामा सरकार र पार्टीका सांसदबीच देखिएको असमझदारी तथा संसदीय मर्यादाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री तथा सांसदहरूसँग अन्तर्क्रिया गर्ने भएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई संसदीय अनुशासन, मर्यादा र पार्टीको भूमिकाबारे निर्देशन दिने तयारी छ।
यसअघि परराष्ट्रमन्त्रीको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। सभामुखले थप समय नदिएपछि उनी संसद् बैठकबाट बाहिरिएकी थिइन्।
उक्त घटनापछि संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति र व्यवहारबारे रास्वपाभित्र समीक्षा सुरु भएको हो। यही विषयलाई केन्द्रमा राखेर मन्त्री तथा सांसदहरूसँग अन्तर्क्रिया गर्न लागिएको रास्वपाले जनाएको छ। बैठकमार्फत आगामी दिनमा संसद्मा पार्टीका सांसदहरूले अपनाउनुपर्ने अनुशासन, संसदीय मर्यादा र समन्वयबारे स्पष्ट धारणा बनाउने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया