
पोखरा । बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन गरिएको छ ।
शनिबार पोखराको मानवअधिकार चोकमा युवा–युवतीहरूले गरिमा चौधरीका लागि न्याय माग्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरे ।
‘गरिमालाई न्याय देऊ’, ‘बालिकामाथि हुने हिंसा अन्त्य गर’, ‘दोषीलाई हदैसम्मको कारबाही गर’ लगायतका नारासहित प्रदर्शनकारीहरूले आवाज उठाएका थिए ।
प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनामा राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । उनीहरूले यस्ता घटनाका दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी निष्पक्ष अनुसन्धान तथा प्रभावकारी कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
गरिमा चौधरीको घटनाले बालबालिकाको सुरक्षा र महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध समाजमा थप गम्भीर बहस आवश्यक रहेको प्रदर्शनकारीहरूको भनाइ थियो । उनीहरूले दोषीलाई कडा सजाय र पीडित परिवारलाई न्याय दिलाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत जनाएका छन् ।





















प्रतिक्रिया