काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्ना एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् । यद्यपि उनले घटना कहिले, कहाँ र कुन छोरालाई निशाना बनाइएको थियो भन्नेबारे विवरण दिएका छैनन् ।
सरकारसमर्थक इजरायली सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा नेतन्याहुले इरानले आफ्ना छोरामध्ये एकलाई मार्ने प्रयास गरेको बताएका हुन् ।
उनका दुई छोरा र एक छोरी छन् । उनका दुवै छोरालाई जुलाईमा थप व्यक्तिगत सुरक्षा उपलब्ध गराइएको बताइएको छ । जेठा छोरा याइर लामो समयदेखि अमेरिकाको मियामीमा बस्दै आएका छन् ।
आफ्नो दाबी सार्वजनिक गर्दै नेतन्याहुले इजरायलका पूर्वसेनाप्रमुख गादी आइसेनकोटलाई पर्याप्त सुरक्षा दिनुपर्नेमा समेत जोड दिएका छन् । उनले सुरक्षा नदिए इरानबाट खतरा बढ्न सक्ने चेतावनी दिएका छन् ।
यसैबीच, इरानले पूर्वसर्वोच्च नेता अली खामेनीको मृत्युको बदला लिने प्रतिबद्धता जनाउँदै आएको छ । खामेनीको मृत्युपछि उनका छोरा मोज्तबा नयाँ सर्वोच्च नेता बनेका छन् ।






















प्रतिक्रिया