काठमाडौं । बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध मुद्दामा तीन पत्रकारलाई मुद्दाको टुंगो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ।
हिरासतमा पर्नेमा एकट्टोर टेलिभिजनका प्रधान सम्पादक मोजाम्मेल बाबु, प्रमुख संवाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागोजका सम्पादक श्यामल दत्त छन्। न्यायाधिकरणले अर्को सुनुवाइ अक्टोबर २५ मा तोकेको छ।
अभियोजन पक्षले उनीहरूमाथि तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी प्रदर्शनकारीमाथि दमन गर्न उक्साएको आरोप लगाएको छ। पत्रकारहरूले भने आरोप अस्वीकार गर्दै आएका छन्।
पत्रकारहरूको पक्राउ र जमानत अस्वीकारप्रति अन्तर्राष्ट्रिय मानव अधिकार तथा प्रेस स्वतन्त्रता संस्थाहरूले आपत्ति जनाएका छन्। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले पत्रकार सम्मेलनमा प्रश्न सोधेकै आधारमा मानवताविरुद्धको अपराधको मुद्दा चलाउनु गम्भीर चिन्ताको विषय भएको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।
सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री हसिना देश छाडेर भारत पुगेकी थिइन्। उनीमाथि मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मुद्दा चलिरहेको छ।





















प्रतिक्रिया