५० टन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौं आइपुग्यो


काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुईवटा वाई–२० ठूला ढुवानी विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ तथा उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ। चिनियाँ दूतावासका अनुसार दुवै विमान चीनको छेन्दुस्थित शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए।

चीनले पठाएको राहत सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, ड्राइ बिस्कुट तथा प्राथमिक उपचार सामग्रीलगायत १३ हजार २०० थान सामग्री रहेका छन्। ती सामग्रीको कुल तौल ५० टन रहेको छ।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन तथा सांसद धर्म केसी सहभागी थिए। उनीहरूले चिनियाँ उद्धार विशेषज्ञलाई स्वागत गरेका थिए।

नेपालमा जारी विपद् उद्धार तथा राहत अभियानमा सहयोग पुर्‍याउन चीनबाट आएको यो टोलीले विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारमा प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ।