काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण नियमित ढुवानी प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाइएको छ ।
नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको एलपी ग्यासमा उद्योगीहरूले ढुवानी लागत भन्दै थप १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् । अब काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले १८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णयअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।
कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा ग्यास ल्याउन वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको र त्यसबाट ढुवानी खर्च बढेको संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
उनका अनुसार यसअघि बुलेटमार्फत प्रत्यक्ष ग्यास ढुवानी हुँदै आए पनि अहिले तराई क्षेत्रमा ग्यास रिफिल गरी त्यहाँबाट अर्को माध्यममार्फत काठमाडौं ल्याउनुपर्ने अवस्था छ । यसले ढुवानी लागत बढाएको उनको भनाइ छ ।
‘ढुवानी भाडा नै प्रतिसिलिन्डर १ सय ८० रुपैयाँ परेको छ । त्यसमा उपभोक्तालाई १ सय ५ रुपैयाँ थप गरिएको हो,’ घिमिरेले भने ।
उद्योगीहरूले भने आयल निगमसँगको सहमतिअनुसार नै अतिरिक्त ढुवानी शुल्क उपभोक्ताबाट लिइएको दाबी गरेका छन् । काठमाडौं उपत्यकाका ग्यास उद्योगले तराई क्षेत्रका उद्योगमा रिफिल गरी ग्यास ल्याउनुपर्ने बाध्यता भएकाले मूल्य बढाइएको उनीहरूको भनाइ छ ।
नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले ग्यासको खरिद मूल्य नबढेको, ढुवानी लागत मात्रै बढेकाले उपभोक्ता मूल्यमा वृद्धि गरिएको बताए ।
उनका अनुसार उद्योगीको वास्तविक अतिरिक्त ढुवानी खर्च प्रतिसिलिन्डर २ सय रुपैयाँभन्दा बढी भए पनि आयल निगमको प्रावधानअनुसार १ सय ५ रुपैयाँभन्दा बढी लिन नमिल्ने भएकाले सोहीअनुसार मूल्य बढाइएको हो ।
आयल निगम भन्छ– ५० किलोमिटरभन्दा बढीको ढुवानी भाडा उद्योगीले लिन पाउँछन्
नेपाल आयल निगमले भने एलपी ग्यासको मूल्य उद्योगबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्रै निर्धारण गर्ने गरेको स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले ५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा उद्योगीहरूले अतिरिक्त ढुवानी भाडा जोडेर लिन पाउने व्यवस्था रहेको बताए ।
‘निगमले तोक्ने मूल्य उद्योगदेखि ५० किलोमिटर दूरीसम्मका लागि हो । त्योभन्दा बाहिरका लागि उद्योगीहरूले ढुवानी भाडा जोडेर लिन पाउँछन्,’ ठाकुरले भने ।
उनले यो नयाँ व्यवस्था नभई विगतदेखि नै लागू हुँदै आएको प्रावधान भएको दाबी गरे । उनका अनुसार कुनै पनि ग्यास उद्योगले आफ्नो उद्योगबाट ५० किलोमिटरभन्दा टाढा ग्यास पठाउँदा अतिरिक्त ढुवानी लागत उपभोक्ताबाट लिन सक्ने व्यवस्था छ ।
यसरी कृष्णभिरको पहिरोका कारण नियमित आपूर्ति मार्ग प्रभावित भएपछि वैकल्पिक ढुवानीको लागत बढ्दा काठमाडौं उपत्यकाका उपभोक्ताले प्रतिसिलिन्डर थप १ सय ५ रुपैयाँ ३८ पैसा तिर्नुपर्ने भएको छ ।



















प्रतिक्रिया