९ महिनाको समुद्री यात्रापछि ‘अब्राहम लिंकन’ थाइल्यान्डबाट रवाना


थाइल्यान्ड । नौ महिनाको लामो समुद्री तैनाथीपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्यान्डको पाँचदिने भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ ।

करिब ५ हजार अमेरिकी नौसैनिकसहितको जहाज लाएम चाबाङ बन्दरगाहबाट स्थानीय समयअनुसार बिहान ११ बजे प्रस्थान गरेको हो । मध्यपूर्वमा लामो तैनाथीपछि नौसैनिकहरूलाई आराम र मनोरञ्जनका लागि थाइल्यान्ड ल्याइएको थियो ।

पाँचदिने भ्रमणका क्रममा नौसैनिकहरूले पटायाका पर्यटकीयस्थल, बजार तथा मनोरञ्जन क्षेत्रमा समय बिताएका थिए । स्थानीय अधिकारीका अनुसार उनीहरूको आगमनले पर्यटन व्यवसायमा समेत राहत पुगेको छ ।

यसअघि जहाजमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे प्रश्न उठेपछि अमेरिकी सांसदहरूले छानबिनको माग गरेका थिए । थाइल्यान्ड भ्रमणपछि ‘अब्राहम लिङ्कन’ पुनः समुद्री तैनाथीतर्फ अघि बढेको छ ।