चन्द्रमामा चीनको स्याटेलाइट जालो, बनाउँदैछ ३डी नेटवर्क


काठमाडौं । चीनले पृथ्वी र चन्द्रमाबीचको अन्तरिक्ष क्षेत्रको अध्ययन तथा सूर्यका शक्तिशाली गतिविधिको निगरानी गर्न ३डी स्याटेलाइट नेटवर्क निर्माण गर्ने भएको छ ।

चीनको डीप स्पेस एक्सप्लोरेसन ल्याबोरेटरीका अनुसार आगामी चार वर्षभित्र पृथ्वी वरिपरि विभिन्न कक्षमा ३० वटा क्युबस्‍याट परिचालन गरिनेछ । यसबाट सूर्यबाट आउने ऊर्जावान कण तथा चुम्बकीय गतिविधि पृथ्वीदेखि चन्द्रमासम्म कसरी फैलिन्छ भन्ने अध्ययन गरिनेछ ।

परियोजनामा चीनसँगै इजिप्ट, इन्डोनेसिया, सेनेगल, सर्बिया र थाइल्यान्ड सहभागी हुनेछन् । चन्द्रमाको कक्षमा समेत साना उपग्रह पठाएर त्यहाँका सम्भावित पानी, खनिज तथा अन्य स्रोतको अध्ययन गर्ने योजना रहेको जनाइएको छ ।

वैज्ञानिकहरूले पृथ्वी–चन्द्र क्षेत्रलाई भविष्यका मानव अन्तरिक्ष अभियानका लागि महत्वपूर्ण मान्दै आएका छन् ।