बुटवल । जेनजी आन्दोलनमा सन्तान गुमाएको एक वर्ष बितिसक्दा पनि लुम्बिनीका सहिद परिवारको पीडा उस्तै छ। राज्यबाट राहत र सहयोग पाए पनि उनीहरूको मुख्य प्रश्न अझै उस्तै छ—‘हाम्रा सन्तानमाथि गोली चलाउनेलाई कारबाही कहिले?’
गत वर्ष भदौ २३ गते सुशासन र परिवर्तनको माग गर्दै सडकमा उत्रिएका क्रममा लुम्बिनी प्रदेशका माधव (निर्मल) सारु मगर, आयुष थापा र सुलभराज श्रेष्ठले ज्यान गुमाएका थिए।
१९ वर्षीय माधव पढाइसँगै भविष्य बनाउने तयारीमा थिए। आयुष विदेश जाने अन्तिम तयारीमा थिए भने २३ वर्षीय सुलभराज इन्जिनियरिङ अध्ययनपछि अमेरिका जाने सपना बोकेका थिए। आन्दोलनको दिन उनीहरूका सबै सपना काठमाडौँकै सडकमा रोकिए।
एक वर्षपछि परिवारहरू राहत, रोजगारी र स्मृतिका कामबाट केही राहत महसुस गरे पनि न्यायको प्रश्नमा अझै सन्तुष्ट छैनन्। सहिद परिवारले आन्दोलनमा भएको मृत्युको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरिरहेका छन्।
नेपालगन्जमा स्थानीय तहले सहिदको स्मृतिमा सालिक, सहिद गेट, खुला जिम तथा ‘सहिद रनिङ सिल्ड’ जस्ता कार्यक्रम अघि बढाएको छ। अर्घाखाँचीका माधवको परिवारले पनि उनको योगदानको स्मरण हुने गरी सालिक निर्माणको माग गरेको छ।
माधवकी आमाले रोजगारी पाएकी छन् भने उनका छोराछोरीको शिक्षामा समेत सहयोग भइरहेको छ। परिवारले राहत र पुनःस्थापनाका कार्यक्रमबाट सहयोग पाए पनि सन्तान गुमाउनुको पीडा भने कुनै राहतले मेट्न नसक्ने बताउँछन्।
सहिद परिवारको भनाइमा अब उनीहरूको माग केवल राहतमा सीमित छैन। सन्तानको बलिदानको सम्मान, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नै उनीहरूको मुख्य अपेक्षा हो।
एक वर्ष बित्यो, क्यालेन्डर फेरियो—तर सहिद परिवारको न्यायको पर्खाइ फेरिएको छैन।



















प्रतिक्रिया