चीनबाट लगातार राहत सहयोग, चौथो खेप नेपाललाई प्रदान


काठमाडौँ । चीन सरकारले नेपालका विपद् प्रभावितका लागि पठाएको आपत्कालीन राहत सामग्रीको चौथो खेप काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्रीसहित अवतरण गरेको हो।

चौथो खेपमा होभरक्राफ्ट, फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर र सौर्य बत्ती लगायतका सामग्री छन्। यी सामग्री बाढी तथा अन्य विपद्का बेला उद्धार र राहत कार्यमा प्रयोग गरिनेछन्।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

चीनले नेपालको आवश्यकतालाई ध्यानमा राखेर पठाएको यो सहयोगले विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।