काठमाडौँ । रुस र युक्रेनका राजधानीमा तीन दिनदेखि रोकिएको हवाई हमला फेरि सुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरको मस्को तथा किभ भ्रमणपछि पनि शान्ति वार्तामा ठोस प्रगति हुन नसकेपछि आक्रमण पुनः सुरु भएको हो।
मंगलबार बिहान रुसले किभमा ड्रोनसहित हवाई हमला गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। हमलामा कम्तीमा दुई जनाको मृत्यु र सात जना घाइते भएका छन्। दुई आवासीय भवनमा समेत क्षति पुगेको छ।
बोरिस्पिल र फास्टिभ क्षेत्रमा पनि रुसी ड्रोनले भवनमा प्रहार गरेको जनाइएको छ। उता, रुसी अधिकारीहरूले युक्रेनी ड्रोनले साराटोभमा आक्रमण गर्दा केही मानिस घाइते भएको बताएका छन्।
अमेरिकी दूतहरूको भ्रमणका क्रममा पुटिन र जेलेन्स्कीले राजधानी केन्द्रित तीनदिने आक्रमण रोक्ने सहमति गरेका थिए। तर समयसीमा सकिएसँगै शान्तिको प्रयास असफल बन्दै युद्धको आगो फेरि राजधानीसम्म पुगेको छ।



















प्रतिक्रिया