सहकर्मी खेलाडीको रहस्यमय मृत्यु, विष दिएको आरोपमा फुटबलर पक्राउ


काठमाडौं । जर्मनीमा ३५ वर्षीय फुटबलर मारियुस आफ्नै सहकर्मी ३० वर्षीय फिलिपलाई विष दिएर हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार सन् २०२५ जुनमा टोलीसँग ड्रेसडेन भ्रमणमा रहेका बेला मारियुसले फिलिपलाई लुकाएर विष दिएको हुन सक्ने आशंका छ। त्यसपछि गम्भीर बिरामी परेका फिलिपको १६ जुन २०२५ मा मृत्यु भएको थियो।

सुरुमा उनको मृत्यु फूड पोइजनिङका कारण भएको आशंका गरिएको थियो। तर पछि भएको अनुसन्धानमा विषको भूमिका देखिएपछि प्रहरीले मारियुसमाथि अनुसन्धान केन्द्रित गरेको हो।

प्रहरीले उनीहरूबीच एक महिलालाई लिएर विवाद रहेको र बदला लिन हत्या गरिएको हुन सक्ने आशंका गरे पनि यसको पुष्टि भइसकेको छैन।

मारियुसले आरोपबारे हालसम्म कुनै बयान दिएका छैनन्। उनी प्रहरी हिरासतमा छन् र हत्याको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन। पक्राउपछि क्लबका खेलाडी तथा पदाधिकारी स्तब्ध भएका छन्।