हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनश्वरी प्रजापति र आशा लामालाई प्रदेशसभा सदस्यबाट हटाउन माग गरेको हो।
राप्रपाका प्रमुख सचेतक डम्बर तामाङले बुधबार प्रदेशसभाकी सभामुख अप्सरा चापागाईंलाई पत्र पठाउँदै पाँचै जनामाथि कारबाही गर्न माग गरेका छन्।
मुख्यमन्त्री थापा मगरले भदौ ८ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। उनको पक्षमा राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले मतदान गरेका थिए। राप्रपाका पाँच सांसद भने बैठकमा अनुपस्थित भएका थिए।
राप्रपा बागमती प्रदेश संसदीय दलको २ असार २०८३ मा बसेको बैठकले प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको र सोहीअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको पत्रमा उल्लेख छ। त्यसका लागि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर सरकारको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको जनाइएको छ।
तर, पार्टीको निर्देशन र ह्विप उल्लङ्घन गर्दै पाँच सांसद बैठकमा अनुपस्थित भएको प्रमुख सचेतक तामाङले बताएका छन्। उनीहरूलाई कारबाहीअघि ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि कसैले पनि स्पष्टीकरण नदिएको पत्रमा उल्लेख छ।
बागमती प्रदेश सरकार गठनको विषयलाई लिएर राप्रपाभित्र यसअघि पनि विवाद हुँदै आएको छ। पार्टीको केन्द्रीय निर्णयविपरीत संसदीय दलका तत्कालीन नेता उद्धव थापाले मुख्यमन्त्री थापा मगरलाई समर्थन गरेपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको भन्दै राप्रपा केन्द्रीय समितिले प्रदेशसभालाई पत्र पठाएको थियो।
त्यसपछि सरकारमा सहभागी राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिविरुद्ध पनि राप्रपाले अनुशासनसम्बन्धी कारबाही अघि बढाएको थियो।
पाँच सांसदलाई पदमुक्त गर्न गरिएको पत्राचारसँगै राप्रपा बागमती प्रदेशभित्रको आन्तरिक विवाद थप चर्किएको छ।




















प्रतिक्रिया