असोज ३ देखि काठमाडौं उपत्यकामा २८ रात्रिकालीन बस, ६ नयाँ रुटमा सेवा


काठमाडौं – संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौं उपत्यकाका ६ वटा नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। बैठकमा उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, साझा यातायातका प्रतिनिधि र सम्बन्धित अधिकारी सहभागी थिए।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्। अब उक्त सेवा विस्तार गर्दै उपत्यकाका विभिन्न क्षेत्र जोड्ने गरी थप बस सञ्चालन गरिने भएको हो।

निर्णयअनुसार गोदावरीदेखि बूढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, विमानस्थलदेखि चन्द्रागिरिको नागढुङ्गासम्म ४ वटा, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमसम्म ४ वटा तथा चक्रपथमा दुईतर्फी सञ्चालनका लागि ८ वटा बस चलाइनेछ।

चक्रपथमा रात्रिकालीन बस सेवा विस्तार भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्ने महानगरले जनाएको छ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ।

रात्रिकालीन बस सेवालाई निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले सेवा सञ्चालनका लागि स्थानीय तहबीच वित्तीय साझेदारी आवश्यक रहेको बताइन्। उनका अनुसार तीन महिना परीक्षणका रूपमा सञ्चालन गरिएको सेवाको व्यवस्थापन तथा वित्तीय पक्षबारे विज्ञ कार्यदलले अध्ययन गरेको थियो।

डंगोलले नागरिकलाई सुलभ र सहज सेवा उपलब्ध गराउन तत्काल भाडा बढाउनेभन्दा स्थानीय तहले जनघनत्व, क्षेत्रफल र क्षमताका आधारमा सेवा सञ्चालनमा आवश्यक वित्तीय दायित्व वहन गर्नुपर्ने प्रस्ताव गरेकी थिइन्। बैठकले उक्त प्रस्ताव पारित गर्दै वित्तीय साझेदारीमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले रात्रिकालीन सार्वजनिक यातायात यात्रुका लागि भरपर्दो बन्दै गएको बताए। स्थानीय तहको सहभागिता बढ्दै जाँदा सेवा सञ्चालनको लागतसमेत कम हुने उनको भनाइ थियो।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सेवा सञ्चालनपछि यात्रु संख्या र लागतको मासिक समीक्षा गर्दै सेवालाई दिगो बनाउनुपर्ने बताए। त्यस्तै, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले चापागाउँ, लामाटार र लुभुसम्म रात्रिकालीन बस सेवा विस्तारको सम्भावनाबारे छलफल गर्नुपर्ने बताए।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक यातायात पाउन कठिन हुने भएकाले नागरिक महँगो भाडा तिर्न बाध्य रहेको बताइन्। रात्रिकालीन बस सेवाले काठमाडौं, ललितपुर र भक्तपुरबीचको यातायात सम्बन्ध थप सहज बनाउने उनको भनाइ थियो।

बैठकले रात्रिकालीन बस सेवाका लागि रुट परमिट सहज बनाउन विद्यमान यातायातसम्बन्धी कानुनमा समयानुकूल संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, रात्रिकालीन सहरी जीवनलाई प्रवर्द्धन गर्न स्थानीय तहले सार्वजनिक स्थलमा जात्रा, पर्व, मेला तथा महोत्सव आयोजना गर्ने, यात्रु संख्या वृद्धि गर्न आवश्यक पहल गर्ने, गन्तव्य क्षेत्रमा चार्जिङ स्टेसन निर्माण तथा रात्रिकालीन बस पार्क व्यवस्थापनमा सहयोग गर्ने निर्णय भएको छ।

काठमाडौं महानगरपालिकाले नयाँ रुटको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ।