काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको आयुर्वेद फार्माल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्न विराट मेडिकल कलेजसँग सहकार्य गरेको छ।
कम्पनीले यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै आयुर्वेद फार्माल्याबले अब बाढी प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
आयुर्वेद फार्माल्याब र विराट मेडिकल कलेजबीच भएको सहकार्यअनुसार विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
शिविर विदुर नगरपालिका–७ स्थित सरोवर स्कुल, वडा नं. ५ स्थित शिवपुरी विद्यालय तथा वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
शिविरमा स्थानीय बासिन्दालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइनेछ। थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइने बताइएको छ।
बाढीपछि प्रभावित धेरै परिवार स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइमा रहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आयुर्वेद फार्माल्याबले जनाएको छ।
कम्पनीका अनुसार औषधिजन्य सामग्री सहयोगदेखि प्रभावित बस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानसम्मका गतिविधिले विपद्को कठिन समयमा प्रभावित परिवारसँगै उभिएर उनीहरूको स्वास्थ्य तथा पुनःस्थापनाको यात्रामा साथ दिने प्रतिबद्धता झल्काउँछन्।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आयुर्वेद फार्माल्याबले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ।



















प्रतिक्रिया