रियाद । यमनका हुथी विद्रोहीले साउदी अरबविरुद्ध सैन्य गतिविधि तीव्र बनाएपछि मध्यपूर्वको तनाव थप चर्किएको छ । हुथीको प्रभाव लाल सागर र बाब अल–मन्देब क्षेत्रमा विस्तार हुँदै जाँदा साउदी अरबमाथि सुरक्षा चुनौती बढेको छ ।
हुथीको पछिल्लो गतिविधिले विश्वव्यापी ऊर्जा आपूर्ति र महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमा असर पर्न सक्ने चिन्ता समेत बढेको छ । अमेरिकी गुप्तचर तथा सैन्य सहयोग साउदीलाई प्राप्त भए पनि हुथीविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही गर्ने तत्काल संकेत देखिएको छैन ।
शनिबार साउदी राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ । हुथीले भने रियादका महत्त्वपूर्ण स्थान तथा यान्बुस्थित साउदी अराम्कोको सुविधामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । आक्रमणबाट मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन ।
हुथीको प्रभाव रोक्न साउदीले अमेरिकासँग थप प्रत्यक्ष सैन्य सहयोग मागिरहेको बताइएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुथीसँग प्रत्यक्ष युद्धमा संलग्न हुने इच्छा तत्काल नदेखाएको स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
यसैबीच, हुथीलाई इरानबाट तालिम, इन्धन र अन्य सहयोग प्राप्त हुँदै आएको आरोप छ । यमनमा लामो समयदेखि जारी संघर्ष पुनः तीव्र बनेसँगै बाब अल–मन्देब र स्ट्रेट अफ होर्मुजजस्ता महत्त्वपूर्ण समुद्री मार्गसमेत एउटै क्षेत्रीय संकटसँग जोडिन थालेका छन् ।



















प्रतिक्रिया