इरान युद्धमा अमेरिकाको ४३ अर्ब ६० करोड डलर खर्च


वासिङ्टन डीसी । इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो विवरणअनुसार सेप्टेम्बर ३ सम्ममा युद्धसम्बन्धी सैन्य खर्च उक्त रकम पुगेको हो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता अमेरिकी खर्च निरन्तर बढिरहेको छ । यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालयले अगस्ट १ सम्मको खर्च ३८ अर्ब डलर पुगेको अनुमान गरेको थियो ।

पछिल्लो खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ । अमेरिकी सेनाले हतियारमा मात्रै २८ अर्ब १० करोड डलर खर्च गरेको विवरणमा उल्लेख छ । अगस्ट १ सम्मको अनुमानमा यो रकम २१ अर्ब ७० करोड डलर थियो ।

युद्धका क्रममा प्याट्रियट र थाडजस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको प्रयोग बढ्दा अमेरिकी क्षेप्यास्त्र भण्डारमा समेत दबाब परेको बताइएको छ । युद्धपोत, विमान, सैन्य अखडाको सञ्चालन, क्षतिग्रस्त उपकरण तथा घाइते सैनिकको उपचार खर्च पनि कुल सैन्य खर्चमा समेटिएको छ ।

तर मध्यपूर्वमा इरानी आक्रमणबाट क्षतिग्रस्त अमेरिकी सैन्य संरचनाको सम्पूर्ण लागत भने पछिल्लो ४३ अर्ब ६० करोड डलरको अनुमानमा समावेश गरिएको छैन । कुवेत, बहराइन, कतार, यूएई, साउदी अरब, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार युद्धका क्रममा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ८३० भन्दा बढी घाइते भएका छन् । खर्च बढ्दै गएपछि अमेरिकी प्रशासनले सैन्य तथा युद्ध सञ्चालनका लागि ९५ अर्ब डलरको थप बजेट माग गरेको छ ।

कंग्रेसनल बजेट कार्यालयले युद्धको तीव्रता कायम रहेमा अमेरिकाको सैन्य खर्च प्रत्येक महिना करिब ३ अर्ब डलर वा त्यसभन्दा बढी बढ्न सक्ने अनुमान गरेको छ । युद्धको प्रभाव तेलको मूल्य, अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा समेत पर्न सक्ने बताइएको छ ।