रुस । मस्को क्षेत्रमा युक्रेनले गरेको भनिएको ठूलो ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार आक्रमणमा आवासीय भवन तथा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ । सोफिनोमा तीनतले आवासीय भवनमा ड्रोन प्रहार हुँदा ४४ वर्षीया महिलाको मृत्यु भएको र दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । ओरेखोभो–जुयेभो जिल्लामा निजी घरमा भएको आक्रमणमा एक वृद्धको मृत्यु भएको उनले बताए ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका ४५० ड्रोन खसालिएको दाबी गरेका छन् । उनका अनुसार केही घरमा आगलागी हुनुका साथै तेल प्रशोधन केन्द्रको एउटा संरचनामा क्षति पुगेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रका महत्त्वपूर्ण रुसी तेल संरचना र लजिस्टिक केन्द्रलाई युक्रेनी सेनाले निशाना बनाएको पुष्टि गरेका छन् । यसअघि रुसी आक्रमणमा किभ र सुमी क्षेत्रमा आठ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका थिए ।



















प्रतिक्रिया