‘कमेडी च्याम्पियन’को चौथो सिजन सुरु, जज प्यानलमा व्यापक फेरबदल


काठमाडौं – हास्य विधामा आधारित लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन ग्रान्ड प्रिमियरसहित प्रसारणमा आएको छ। संविधान दिवसको अवसर पारेर शनिबार असोज ३ गतेदेखि शो प्रसारण सुरु भएको हो।

शोको पहिलो एपिसोड हिमालय टेलिभिजनबाट राति ९ बजे तथा ओएसआर रियालिटीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी अतिथिका रूपमा सहभागी भएका थिए।

चौथो सिजनमा जज प्यानलमा समेत परिवर्तन गरिएको छ। अघिल्ला तीनै सिजनमा जज रहेकी ऋचा शर्मा निरन्तर रहँदा मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा जितु नेपाल, बुद्धि तामाङ र निर्देशक विशाल भण्डारी जोडिएका छन्।

निर्देशक भण्डारीका अनुसार एउटै जज प्यानलका कारण दोहोरिँदै गएको जोक प्याटर्न र ‘इनसाइड जोक’मा नयाँपन ल्याउन यसपटक प्यानल परिवर्तन गरिएको हो। चौथो सिजनमा फरक जोक, नयाँ शैली र फ्रेस रोस्ट प्रस्तुत गर्ने लक्ष्य रहेको उनले बताएका छन्।

कार्यक्रम सञ्चालनमा पनि परिवर्तन भएको छ। मेक्सम गौडेल निरन्तर रहँदा रीमा विश्वकर्माको स्थानमा नम्रता श्रेष्ठ जोडिएकी छन्।

निर्देशक भण्डारीका अनुसार चौथो सिजनमा करिब ३० एपिसोड रहनेछन्। थ्री प्रोडक्सन टिमको प्रस्तुतिमा निर्माण भएको शोका प्रमुख कार्यकारी निर्माता सगुन पाण्डे हुन्।

भण्डारीले ‘कमेडी च्याम्पियन’सँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै यस सिजन पनि नयाँ प्रतिभाको खोजी र उनीहरूको कलाकारिताको यात्रालाई दर्शकमाझ प्रस्तुत गर्ने बताएका छन्। उनका अनुसार प्रतियोगितामा फरक पृष्ठभूमिबाट आएका प्रतिभाले केही महिनाको निरन्तर मेहनतपछि आफ्नो पहिचान बनाउने अवसर पाउनेछन्।

नयाँ प्रतिभाको ‘हिरो फ्रम जिरो’ यात्रालाई दर्शकले नजिकबाट हेर्न पाउने दाबी गर्दै भण्डारीले लुकेका प्रतिभालाई मञ्चमा ल्याएर उनीहरूको सफलताको कथा बुन्न पाउनु आफ्नो टिमका लागि गर्वको विषय भएको बताएका छन्।