उपासना र सोनमको प्रेमकथामा दूरी र प्रतीक्षाको पीडा, यस्तो छ ‘जलाकी’को ट्रेलर


काठमाडौं – ‘खुश्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र भावनात्मक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ।

कलेज जीवनको प्रेमकथामा आधारित ट्रेलरमा प्रेम, सम्बन्धका उतारचढाव र विछोडको पीडालाई प्रस्तुत गरिएको छ। ट्रेलरको केन्द्रमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देन छन्। एउटै कलेजमा अध्ययन गर्ने उनीहरूबीच प्रेम अंकुरिन्छ। तर, आर्थिक अभावका कारण सोनम परदेशिन बाध्य भएपछि उपासना उनको प्रतीक्षामा बस्नुपर्छ। प्रेमीको पर्खाइमा रहेकी उपासनाको भावनात्मक अवस्था र सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। ट्रेलरमा उपासनाको अभिनय आकर्षक देखिन्छ।

मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्कबहादुर पुन, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ। अभिनेता विजय लामा विशेष भूमिकामा देखिनेछन्।

निर्देशक अशोक थापा मगर स्वयंको लेखन तथा सम्पादन रहेको फिल्ममा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर, बेताने मगर (बबिता राना), सुस्मिता बुढाथोकी र राधा थापा निर्माता छन्।

मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ। प्रेम, दूरी, प्रतीक्षा र सांस्कृतिक पहिचानलाई समेटेको ‘जलाकी’ले दर्शकको कस्तो साथ पाउँछ, त्यो भने प्रदर्शनपछि थाहा हुनेछ।