दुई दिन बिदाबारे सरकारसँग यशोदा बरालको प्रश्न : स्वास्थ्य र शिक्षामा परेको असर थाहा छ ?


काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सरकारले घोषणा गरेको दुई दिनको सार्वजनिक बिदाले स्वास्थ्य, शिक्षा, कार्यालय तथा आम जनजीवनमा पारेको प्रभावबारे सरकारसँग प्रश्न गरेकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद बरालले बिदा व्यवस्थापनका कारण विशेषगरी महिला कर्मचारीले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन्। घर–व्यवहार र कार्यालय दुवै सम्हाल्नुपर्ने महिलाले छोराछोरीको व्यवस्थापन गर्दै समयमै कार्यालय पुग्न कठिनाइ भोग्नुपरेको उनको भनाइ थियो।

‘सरकारले हचुवाका भरमा दिने बिदाले कति सास्ती भएको छ, के सरकारलाई थाहा छ ?’ भन्दै बरालले बिदा घोषणा गर्दा कर्मचारी तथा सर्वसाधारणको दैनिक जीवनमा पर्ने प्रभावबारे गम्भीर भएर सोच्न सरकारलाई आग्रह गरिन्।

दुई दिनको बिदाका कारण सेवा प्रवाहमा समेत ढिलाइ हुने र सर्वसाधारणले सास्ती बेहोर्नुपरेको उल्लेख गर्दै उनले विद्यमान बिदा नीतिमाथि पुनर्विचार गर्न सरकारसँग माग गरिन्। कर्मचारी र विशेषगरी महिला कर्मचारीका व्यावहारिक समस्यालाई ध्यानमा राखेर बिदासम्बन्धी निर्णय गर्नुपर्ने उनको भनाइ थियो।