काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई बाह्य घेराबन्दी र आन्तरिक कमजोरीको संयुक्त परिणामका रूपमा विश्लेषण गरेका छन्।
सोमबार केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले निर्वाचनको परिणामलाई स्वीकार गर्दै मतदानपूर्वको राजनीतिक वातावरण भने असामान्य, एकपक्षीय र तनावपूर्ण रहेको उल्लेख गरेका छन्। भदौका हिंसात्मक घटनापछि समाजमा उत्पन्न मनोवैज्ञानिक प्रभाव, पुराना दलप्रति फैलाइएको नकारात्मक धारणा तथा डिजिटल माध्यममा आरोप र भावनात्मक प्रचार हाबी हुनु निर्वाचन वातावरणका महत्वपूर्ण पक्ष रहेको उनको निष्कर्ष छ।
ओलीले एमालेको हारलाई केवल बाह्य कारण वा कुनै एक व्यक्तिको असफलतामा सीमित गर्न नहुने बताएका छन्। उनका अनुसार राजनीतिक प्रतिस्पर्धी, स्वार्थ समूह र डिजिटल अभियानबाट एमालेविरुद्ध नकारात्मक भाष्य निर्माण हुनुका साथै पार्टीभित्रका कमजोरीले पनि पराजयमा भूमिका खेलेका छन्।
प्रतिवेदनमा ओलीले सङ्गठन विस्तार भए पनि त्यसअनुसार शुद्धीकरण, सुदृढीकरण र सक्रियता बढ्न नसकेको स्वीकार गरेका छन्। कमिटीहरू औपचारिक बैठकमा सीमित हुनु, जनताका समस्या समाधान गर्ने क्षमता कमजोर हुनु, नेतृत्व र कार्यकर्ताबीच सूचना प्रवाहमा दूरी बढ्नु, उम्मेदवार छनोट तथा स्थानीय असन्तोष र अन्तर्घातजस्ता समस्या देखिएको उनले उल्लेख गरेका छन्।
युवापुस्ताको बदलिँदो अपेक्षा बुझ्न पार्टी ढिलो भएको पनि ओलीले स्वीकार गरेका छन्। रोजगारी, उद्यम, प्रविधि र छिटो परिणाम खोजिरहेको युवालाई भविष्यको स्पष्ट योजना दिन नसकिएको तथा डिजिटल सञ्चार प्रणाली समयअनुकूल बनाउन नसक्दा गलत सूचना छिटो फैलिएको उनको विश्लेषण छ।
ओलीले पार्टी अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्दै अब सङ्गठन पुनर्निर्माण, सञ्चार प्रणालीमा सुधार र पार्टीभित्रको असन्तोषलाई सुधारको ऊर्जामा बदल्नुपर्ने बताएका छन्। उनले निर्वाचनको जनादेश स्वीकार गर्दै त्यसको निर्माण भएको राजनीतिक वातावरणमाथि पनि गम्भीर अध्ययन आवश्यक रहेको बताएका छन्।



















प्रतिक्रिया