काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले त्रिपुरेश्वरमा चालकले आत्मदाह गरेको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिएकामाथि कारबाही गर्न आयोग गठन गर्नुपर्ने बताए ।
दुलालले ट्राफिक प्रहरीसँगको विवादपछि चालकले आत्मदाह गर्ने घोषणा गर्दासमेत राज्यले समयमै संवेदनशील भएर हस्तक्षेप गर्न नसकेको आरोप लगाए । उनले यो घटना एउटा चालकको आवेगमा मात्र सीमित नभई राज्य संयन्त्रप्रतिको नागरिकको निराशासँग जोडिएको बताए ।
उनले गृहमन्त्रीसँग ट्राफिक प्रहरीको कमान्ड र जिम्मेवारीबारे प्रश्नसमेत गरे । ‘नेपाल प्रहरी बलअन्तर्गतको ट्राफिक प्रहरी कसको हो ? नेपाल सरकार कसको हो ? नेपाल प्रहरी चलाउने मन्त्री को हो ?’ उनले प्रश्न गरे ।
दुलालले नागरिकका गुनासा र संवेदनालाई गम्भीर रूपमा सम्बोधन गर्दै घटनाको निष्पक्ष छानबिन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने गरी आवश्यक सुधार गर्न सरकारसँग माग गरे ।



















प्रतिक्रिया