एमाले बैठकमा नेतृत्वमाथि प्रश्नैप्रश्न, कार्यदलको प्रतिवेदन पेस गर्न माग


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन पेस गरी छलफल अघि बढाउन माग गरेका छन् ।

ललितपुरको रामबाघ महलमा जारी बैठकमा अग्नी खरेल, आनन्द पोखरेल, कर्ण थापा, किरण गुरुङ, अफिलाल उखेडा, उर्मिला सुनुवार, एकलाल श्रेष्ठ र आरसी लामिछानेसहितका नेताले आफ्नो धारणा राखेका छन् ।

बैठकमा नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया र पार्टी सञ्चालन पद्धतिप्रति समेत प्रश्न उठेको एक केन्द्रीय सदस्यले बताए । नेताहरूले संस्थागत विधि र पद्धतिलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थ र लहडका आधारमा निर्णय गर्ने प्रवृत्तिले पार्टी कमजोर बनेको बताएका छन् ।

केन्द्रीय सदस्य अग्नी खरेलले विधान महाधिवेशनमा पर्याप्त छलफल हुन नसक्नु कमजोरी भएको भन्दै जनभावनालाई पार्टीले उचित रूपमा सम्बोधन गर्न नसकेको विषय उठाएका छन् । उनले पार्टी पुनर्गठनको आवश्यकता रहेको बताएका छन् ।

नेताहरूले पार्टीभित्र मौलाउँदै गएको अस्वस्थ आचरण र परम्परागत कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन् । कार्यकर्ताको मनोबल बढाउन नेतृत्वको व्यवहार र कार्यशैली परिवर्तन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

विधान महाधिवेशनमा भएका कमजोरीको समीक्षा गर्दै जनअपेक्षा र भुइँतहका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न संरचनात्मक पुनर्गठन आवश्यक रहेको उनीहरूको भनाइ छ । पार्टीभित्र विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने आवाज बैठकमा उठेको छ ।

यसअघि पदाधिकारीका तर्फबाट विष्णु पौडेल र शंकर पोखरेलले धारणा राखेका थिए । बैठकमा अन्य केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने क्रम जारी रहेको पार्टी स्रोतले जनाएको छ।