काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई सांसदले न्यायपालिका पुनर्संरचना गर्नुपर्ने विषय प्रतिनिधि सभा बैठकमा उठाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मधुकुमार चौलागाई र यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना आवश्यक रहेको बताएका हुन्।
सांसद चौलागाईले न्यायपालिका निरंकुशतातर्फ गएको दाबी गर्दै यसको पुनर्संरचना गर्नुपर्ने बताए। उनले भदौ ३१ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद् नियमावलीको नियम १४०(११)५९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको विषयलाई उल्लेख गर्दै यस्तो धारणा राखेका हुन्।
उनले उक्त आदेशले संविधान संशोधनको बाटो रोकिएको र संसद्को सार्वभौम अधिकारमा असर परेको दाबी गरे। चौलागाईले जनतालाई प्रभावकारी रूपमा न्याय प्रदान गर्ने स्वतन्त्र न्यायपालिका निर्माणका लागि पुनर्संरचना आवश्यक रहेको बताए।
यसअघि रास्वपाकै सांसद यज्ञमणि न्यौपानेले पनि न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए। उनले न्यायपालिकाको पुनर्संरचना गर्न अब ढिलाइ गर्न नहुने बताएका छन्।



















प्रतिक्रिया