काठमाडौं । नेकपाका सांसद रमेश मल्लले भोटेकोशीमा आएको बाढीलाई हिमाली जलप्रलयको कठोर चेतावनीको यथार्थ भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढीका कारण बस्ती उजाडिएको, पूर्वाधारमा ठूलो क्षति पुगेको र सयौँ परिवार अझै आफन्तको प्रतीक्षामा रहेको बताए ।
मल्लले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने ठूलो रूपमा भोगिरहेको उल्लेख गर्दै यसलाई विपद् व्यवस्थापनसँगै जलवायु न्यायको विषय बनाउनुपर्ने बताए ।
उनले सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रको क्षतिको स्वतन्त्र मूल्याङ्कन गर्नुपर्ने, प्रभावित समुदायलाई क्षति तथा नोक्सानी कोषबाट ऋण नभई अनुदान उपलब्ध गराउनुपर्ने माग गरे ।
त्यस्तै, जलवायु वित्तमा नेपालको प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्ने, हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली तथा जोखिम नक्साङ्कनलाई प्रभावकारी बनाउनुपर्ने र जलवायु प्रतिरोधी पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय साझेदारी बढाउनुपर्ने उनको माग छ ।
मल्लले ठूला उत्सर्जन राष्ट्रसँग उत्सर्जन कटौती र हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि स्पष्ट, समयबद्ध तथा जवाफदेही प्रतिबद्धता माग गर्न पनि सरकारसँग आग्रह गरे ।



















प्रतिक्रिया