सन्तोष श्रेष्ठ बने विज्ञापन बोर्डको अध्यक्ष


काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथपछि मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न श्रेष्ठलाई निर्देशन दिए । उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको उल्लेख गर्दै सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।