काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको छ।
राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। पार्टीका अनुसार भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ।
हालैको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लालाई भने अधिवेशन सम्पन्न गर्न थप समय दिइएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार ती जिल्लाले असोज १५ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्न पाउनेछन्।
भदौ मसान्तसम्म अधिवेशन गर्न नसकेका जुम्ला र धनकुटालाई पनि असोज १५ गतेसम्मको समय दिइएको छ।
जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशनको तयारी थालेको राप्रपाले सातवटै प्रदेशमा एकैदिन अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको हो। त्यसका लागि केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन प्रतिनिधि खटाइसकेको छ।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ।
राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा सम्बन्धित प्रदेशका जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन्। जिल्ला अध्यक्ष तथा जिल्ला कार्यसमितिले आफूमध्येबाट छनोट गरी पठाएका महिला र उत्पीडित समुदायका प्रतिनिधिसहित सात जना सहभागी हुने व्यवस्था छ।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा कार्यसमितिले छनोट गरी पठाएका महिला र उत्पीडित समुदायका प्रतिनिधिसहित पाँच जना तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट महिला र उत्पीडित समुदायका प्रतिनिधिसहित चार जना सहभागी हुने व्यवस्था छ।
नगर तथा गाउँपालिका कार्यसमितिका अध्यक्षले समेत विधानअनुसार प्रतिनिधि छनोट गरी पठाउने व्यवस्था रहेको राप्रपाले जनाएको छ।
राप्रपामा केन्द्रीय महाधिवेशन प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट हुने व्यवस्था छ। पार्टीले समानुपातिक समावेशीताका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाएको छ।
राप्रपाले सक्रिय सदस्यताका लागि आवेदन तथा फाराम प्रविष्ट गर्ने समय असोज १५ गतेसम्म तोकेको छ। देशभर सक्रिय सदस्यताको विवरण संकलन तथा फाराम प्रविष्ट गर्ने काम भइरहेको पार्टीले जनाएको छ।
प्रदेश अधिवेशन सम्पन्न गरेपछि राप्रपा मंसिरमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा केन्द्रित हुने भएको छ।



















प्रतिक्रिया