तलब नपाएपछि २४ करोडको पसलमा आगजनी


काठमाडौँ । भारतको गुजरातस्थित सुरतको श्याम संगिनी टेक्सटाइल मार्केटमा भएको भीषण आगलागी योजनाबद्ध रूपमा गरिएको खुलेको छ। प्रहरीले आगजनीको आरोपमा पूर्वकर्मचारी विनोद पण्डित सावलेलाई पक्राउ गरेको छ।

सेप्टेम्बर ९ को राति कुम्भारिया तीनरास्तानजिक रहेको कपडा बजारमा आगलागी भएको थियो। आगो नियन्त्रणमा लिन दमकललाई १४ घण्टाभन्दा बढी समय लागेको थियो। घटनामा करिब २४ करोड भारतीय रुपैयाँ बराबरको सामानमा क्षति पुगेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सावलेले बजारको पसल नम्बर ६३९ मा रहेको जगदम्बा टेक्सटाइलमा अकाउन्टेन्टका रूपमा काम गर्थे। मासिक ३० हजार भारतीय रुपैयाँ तलब पाउने उनले करिब एक महिनाअघि जागिर छाडेका थिए। उनको १० हजार रुपैयाँ तलब भने बक्यौता रहेको थियो।

बक्यौता रकम माग्दा व्यापारीले पैसा नदिएपछि आक्रोशित बनेका सावलेले व्यापारीलाई ‘पाठ सिकाउने’ उद्देश्यले आगजनी गरेको प्रहरीको दाबी छ। घटनाको राति पेट्रोल किनेर पसलबाहिर राखिएका कपडाका पार्सलमा पेट्रोल छर्की सलाईबाट आगो लगाएको आरोप प्रहरीले लगाएको छ।

सुरुमा विद्युत् तार वा कपडाका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको थियो। तर सीसीटीभी फुटेजमा एक व्यक्तिले कपडाका पार्सलमा ज्वलनशील पदार्थ छर्केर आगो लगाएको देखिएपछि प्रहरीले योजनाबद्ध आगजनीको कोणबाट अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार आगजनीपछि सावले राजस्थानको खाटूश्याम हुँदै उत्तर प्रदेशको अयोध्या पुगेका थिए। पछि सुरत फर्किने क्रममा उनलाई डिन्डोली फ्लावर गार्डेननजिकबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।