काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्रसिंह महताले आकस्मिक स्वास्थ्य समस्या परेका बिरामीको उद्धारमा देखिएको कानुनी जटिलता तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफ्नो परिवारका सदस्यको उपचारका क्रममा भोगेको अनुभव सुनाउँदै उनले आपत्कालीन अवस्थामा बिरामीको उद्धार सहज र तत्काल हुनसक्ने व्यवस्था गर्न माग गरेका हुन्।
भदौ ६ गते आफन्तलाई सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली अस्पताल भर्ना गरिएको र स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सकको सुझावमा थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान हेलिकप्टर खोज्दा निकै सास्ती भोग्नुपरेको उनले बताए।
लामो प्रयासपछि मात्र उद्धार सम्भव भएको स्मरण गर्दै सांसद महताले भने, ‘म आफ्नो परिवारको सदस्यको जीवन बचाउनुपर्ने अत्यन्तै पीडादायी अवस्थामा थिएँ।’
उनले कानुनी जटिलताका कारण आकस्मिक उद्धारमा ढिलाइ हुनु दुःखद भएको भन्दै दुर्गम क्षेत्रमा बस्ने र राज्यका निकायसम्म सहज पहुँच नभएका नागरिकले यस्तो अवस्थामा उपचार कसरी पाउने भन्ने प्रश्न गरे।
दुर्गम क्षेत्रका नागरिकका लागि आपत्कालीन स्वास्थ्य सेवा, हेलिकप्टर र आवश्यक पूर्वाधारको तयारीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। उनले सबै नागरिकका लागि समान रूपमा लागू हुने गरी स्पष्ट, पारदर्शी र आपत्कालीन अवस्थामा तत्काल निर्णय गर्न सकिने उद्धार प्रणाली बनाउन सरकारसँग माग गरे।



















प्रतिक्रिया