काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयनका लागि अवधारणा पत्र, २०८३ सार्वजनिक गरेको छ।
बोर्डले एउटै कारोबार दिनभित्र धितोपत्र खरिद–बिक्री गरी सोही दिन कारोबारको राफसाफ वा समापन गर्ने प्रणालीका रूपमा इन्ट्राडे ट्रेडिङको अवधारणा अघि सारेको हो। हाल नेपालको सेयर बजार मुख्यतः डेलिभरीमा आधारित रहेकाले तरलता, मूल्य अन्वेषण तथा कारोबारको निरन्तरतामा सुधार आवश्यक रहेको बोर्डले जनाएको छ।
सुरुमा ‘पहिले खरिद–पछि बिक्री’
अवधारणा पत्रअनुसार प्रारम्भिक चरणमा ‘पहिले खरिद गरी पछि बिक्री गर्ने’ मोडेल मात्र लागू गर्ने प्रस्ताव गरिएको छ। ‘पहिले बिक्री गरी पछि खरिद गर्ने’ अर्थात् आवरणयुक्त सर्ट सेलिङ तथा धितोपत्र सापटी–उधारोसम्बन्धी व्यवस्था भने आवश्यक कानुनी, प्राविधिक र संस्थागत पूर्वाधार तयार भएपछि मात्रै विचार गरिनेछ।
इन्ट्राडे कारोबारले बजारमा तरलता र कारोबारको गहिराइ बढाउन सक्ने भए पनि कम तरलता भएका धितोपत्रमा मूल्य अस्थिरता तथा जोखिम बढ्न सक्ने बोर्डले उल्लेख गरेको छ। त्यसैले सुरुआती चरणमा सबै सूचीकृत धितोपत्रमा इन्ट्राडे कारोबार लागू नगरी निश्चित मापदण्ड र तरलताका आधारमा योग्य धितोपत्र छनोट गर्ने प्रस्ताव गरिएको छ।
लगानीकर्ताका लागि जोखिममा आधारित व्यवस्था
बोर्डले लगानीकर्ताको सुरक्षाका लागि जोखिममा आधारित योग्यता निर्धारण, जोखिमसम्बन्धी जानकारीको प्रकटीकरण तथा अनिवार्य अभिमुखीकरणको व्यवस्था प्रस्ताव गरेको छ।
नेपालको बजारको आकार र क्षमतालाई ध्यानमा राख्दै बोर्डले ‘नेपाल इन्ट्राडे ट्रेडिङ मोडल’ प्रस्ताव गरेको छ। यसका लागि छुट्टै नयाँ निकाय स्थापना गर्नुको सट्टा सेबोन, नेप्से, सिडीएससी, धितोपत्र व्यवसायी तथा बैंकिङ प्रणालीलाई प्रविधिमार्फत एकीकृत गर्ने अवधारणा अघि सारिएको छ।
नेपालमा विद्युतीय कारोबार, अभौतिकीकरण तथा अनलाइन प्रणालीको विकास भइसकेकाले बजारलाई इन्ट्राडे ट्रेडिङका लागि ‘सशर्त रूपमा तयार’ मानिएको छ। यद्यपि ब्रोकरको आरएमएस–ओएमएस प्रणाली सुदृढीकरण, वास्तविक समय निगरानी, साइबर सुरक्षा तथा कानुनी र नियामकीय व्यवस्था थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
पहिले पाइलट परीक्षण, त्यसपछि विस्तार
सेबोनले पूर्ण रूपमा प्रणाली लागू गर्नुअघि कानुनी तथा प्राविधिक तयारी पूरा गरी सीमित धितोपत्र, ब्रोकर र लगानीकर्तामार्फत पाइलट परीक्षण गर्ने योजना बनाएको छ।
पाइलट परीक्षणबाट प्राप्त नतिजा, जोखिम तथा बजारको प्रतिक्रियाका आधारमा इन्ट्राडे ट्रेडिङको दायरा क्रमशः विस्तार गर्दै लैजाने बोर्डको अवधारणा पत्रमा उल्लेख छ।



















प्रतिक्रिया