पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीमा शंकर पोखरेलको कडा आपत्ति


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले बिना प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको दाबी गरेका छन्।

उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको बताएका छन्। गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको उनको भनाइ छ।

पोखरेलले गलत कामविरुद्ध खबरदारी गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार राति आफ्नै निवासबाट पक्राउ गरिएको जनाइएको छ। उनको गिरफ्तारीको विषयमा विभिन्न राजनीतिक तथा कानुनी प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।