रुसी हमलाबाट युक्रेनको इन्टरनेट पूर्वाधारमा ठूलो क्षति, २५ प्रतिशत प्रभावित


मस्को । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति पुगेको रुसी पक्षले दाबी गरेको छ।

रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले शनिबार जनाएअनुसार पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा सञ्चार सेवामा असर पारेको छ। डेटा सेन्टरमा भएको क्षतिका कारण इन्टरनेटसम्बन्धी विभिन्न सेवामा अवरोध सिर्जना भएको रुसी पक्षको दाबी छ।

आक्रमणपछि युक्रेनका केही क्षेत्रमा टेलिभिजन प्रसारणमा समेत आंशिक अवरोध आएको बताइएको छ। सामाजिक सञ्जाल तथा भिडियो सेवाहरूमा समस्या देखिएको र किभका बासिन्दाले युट्युबसहित केही अनलाइन सेवामा पहुँच गर्न कठिनाइ भोगेको रुसी पक्षले जनाएको छ।

किभस्थित कोस्मोनोभा डेटा सेन्टरले पनि आफ्ना मुख्य पूर्वाधारमा क्षति पुगेको पुष्टि गरेको छ। कम्पनीका अनुसार प्रभावित इन्टरनेट ट्राफिकलाई अन्य स्थानतर्फ मोड्ने र ब्याकअप स्थानबाट डेटा पुनःस्थापना गर्ने काम भइरहेको छ।

युक्रेनको डिजिटल पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण भने तत्काल स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।