नवलपुर । नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि चितवन–नवलपरासी जोड्ने नारायणी पुलमा ठूला सवारीसाधनको आवागमन रोकिएको छ। नदीको जलसतह खतराको तहभन्दा धेरै माथि पुगेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सवारी आवागमनमा रोक लगाएको हो।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो। केन्द्रले ७ दशमलव ३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानेको छ। नदीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलमा केही समय पूर्ण रूपमा सवारी आवागमन रोकिएको थियो। अहिले जोखिमलाई ध्यानमा राख्दै मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ।
पुरानो पुल भएकाले नदीको बहाव बढेसँगै पुल अत्यधिक हल्लिन थालेपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधनलाई गैँडाकोटमै रोकिएको छ भने चितवनको नारायणघाटबाट नवलपुरतर्फ जाने सवारीसाधनलाई पनि उतै रोकिएको छ।
सम्भावित दुर्घटना न्यूनीकरणका लागि पुलमा पैदलयात्रीलाई रोकिन, तस्बिर खिच्न तथा श्रव्यदृश्य सामग्री बनाउनसमेत रोक लगाइएको छ।
नदीको बहाव घटेपछि अवस्था हेरेर सवारीसाधनको आवागमन पूर्ण रूपमा सञ्चालन गरिने डीएसपी पण्डितले बताए।
यसैबीच नारायणी नदीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गतका नदी तटीय बस्तीहरूमा डुबान भएको छ। नदीको बहाव थप बढेमा जोखिम अझ बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

















प्रतिक्रिया