मनाङमा पहिरोपछि मर्स्याङ्दीमा बाढीको खतरा, तटीय क्षेत्रमा सतर्कता


मनाङ । हिमाली जिल्ला मनाङमा भीषण पहिरो खसेपछि मर्स्याङ्दी नदीमा लेदोसहितको बाढी आउन सक्ने जोखिम बढेको छ। जोखिम बढेसँगै स्थानीय प्रशासनले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोका कारण मर्स्याङ्दी नदी पूर्ण रूपमा थुनिएको अवस्था छैन। तर, पहिरोबाट ठूलो मात्रामा लेदो नदीमा मिसिएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हो।

प्रशासनले मर्स्याङ्दी नदी आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र नदीको अवस्था तथा प्रशासनले जारी गर्ने सूचनामा ध्यान दिन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।