प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज, यस्तो छ कार्यसूची


काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने कार्यसूची छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ प्रस्तुत गर्नेछिन्।

यता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

दुवै सदनका बैठकमा आज विभिन्न विधेयक तथा वार्षिक प्रतिवेदनसम्बन्धी कार्यसूची अघि बढाइनेछ।