चोलेन्द्रको पक्राउलाई लिएर रञ्जु दर्शनाले उठाइन् प्रश्न


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले कानुनको शासनमा अधिकारको प्रयोग विधि र प्रमाणका आधारमा हुनुपर्ने बताएकी छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा संवेदनशीलताको कारण देखाउँदै पक्राउ गरिएको घटनाप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी हुन् ।

दर्शनाले आरोप मात्रै कसैलाई पक्राउ गर्ने पर्याप्त आधार हुन नसक्ने उल्लेख गर्दै कानुनअनुसार कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक पर्ने बताएकी छन् ।

‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ,’ उनले लेखेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’

उनले कानुनी शासनको मर्म नै विधि र प्रमाणमा आधारित हुने भन्दै बिनाप्रमाण अधिकार प्रयोग गर्न नमिल्ने धारणा राखेकी छन् ।

साथै, पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षाप्रति पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘उनको सुरक्षाका लागि सतर्कता बढाइयोस्, ‘एक्स वाइ जेड’ कुनै जेनेरेशनले थ्रेट दिन नसकुन्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।